Wednesday, August 19, 2009

संघीयताबाट कांग्रेस फर्कन्छ - ओमकारप्रसाद श्रेष्ठ, नेता नेपाली कांग्रेस

तपाईहरू महाधिवेशनमा के के एजेण्डा लैजानुहुन्छ? –सबै वर्ग, क्षेत्र, जातजाति, भाषाभाषी, लिंग सबैको सहभागिताका लागि राज्य पुनर्संरचनाको कुरा आगाडि आएको हो। त्यो माग जायज पनि थियो। तर त्यसलाई तोडमोड गरी संघीयताको कुरा अगाडि ल्याइयो। एउटा जिल्लाको एउटा गाउँलाई अर्को जिल्लामा गाभ्न नसक्ने फितलो राज्यसंयन्त्र भएको नेपाल जस्तो मुलुकमा राज्यलाई नै टुक्राटुक्रा गरेर एक ढिक्का बनाउँछु भन्न हाँस्यास्पद कुरा हो। सानासाना टुक्रा राज्यहरू एक्लै बाँच्न नसकेर एकै ठाउँमा बस्ने सम्झौताका रूपमा संघीयशासन प्रणालीको उदय भउको हो। केन्द्र कमजोर भयो भने त्यस्तो संघीयता चल्दो रहेनछ भन्ने अनुभवका आधारमा केन्द्रलाई बलियो बनाउँदै लगिएको छ। तर नेपालको वास्तविकता त्यो होइन।सिंगो देशलाई टुक्राएर बनाइएको संघीयता संसारमा कहीं पनि सफल भएको छैन।
० संघीयतामा जाने निर्णयलाई करेक्सन गर्न सकिन्छ भन्ने आँट छ? –करेक्सन गर्न सकिन्छ भन्नेमात्र होइन, करेक्सन हुन्छ भन्नेमा विश्वस्त छु।
० तपाईहरूले अहिलेसम्म गर्न त केही सक्नुभएको छैन नि? –तपाई आफै सर्वेक्षण गर्नोस्, संघीयताको पक्षमा कति जनमत छ? अहिले त बुझ्दै नबुझेका मान्छेले संघीयता भनिरहेका छन्। अहिले कुन चाहिं पार्टीले यो आधारमा संघीय इकाई बनाउँछु भन्न सकेको छ।
० तपाईहरूले पहिले त आफ्नै पार्टीका नेतासँग संघर्ष गर्नुपर्ने होइन? –संघर्ष होइन, हामी त सल्लाह दिन्छौं। सुधि्रन्छ भन्ने विश्वास छ, संघर्ष गर्नुपर्दैन। अरूभन्दा बढी क्रान्तिकारी बन्न कांग्रेसका केही नेताहरूले संघीयताको कुरा उठाएका छन्। तर उनीहरूले कसरी संघीय इकाई बनाउने भन्ने कुरा बोल्न सकिरहेका छैनन्। जातीय आधारमा संघीय इकाई बनाउनुहुन्न। भाषाका आधारमा संघीय इकाई बनाउनु हुँदैन , क्षेत्रको आधारमा हुँदैन भन्ने लिस्ट चाहिं जहाँ सुकैबाट आइसक्यो। के आधारमा भन्ने कुरामा उनीहरू आफै स्पष्ट छैनन्, अ ब संघ बनाउँछन् कसरी? एक क्षणका लागि क्रान्तिकारी हुन खोज्नेहरूले के फूर्ति गर्नु?
०गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको एजेन्डा कांग्रेसको होइन भन्नेहरू कांग्रेसमै हराइरहेका छन्, किन? –आन्दोलनकारी समूहमध्येको एउटाले यो नारा ज्यायो, यसमा सबै गए। २००४ सालदेखि यहाँको राज्य व्यवस्थामा परिवर्तन आउन कोसिस भइरहेको थियो। विभिन्न खालका ठूला साना राम्रा नराम्रा संविधानहरू पनि बन्दै गए। जति पनि बने सबैमा जनताको सहभागिताभन्दा दिने र लिनेबीचको सम्झौता भयो। २००४ सालमा पद्मशमशेरले दिए। २०१५ सालमा कांग्रेस र राजा महेन्द्रबीचको सम्झौताअनुसार संविधान आयो। २०१९ सालमा राजा महेन्द्रले संविधान दिए। २०३६ सालमा जनमत संग्रहका नाममा धोका दिएर सुधारिएको पंचायतका नाममा संविधान दिइयो। २०४६ सालमा संयुक्त बाममोर्चा, कांग्रेस र राजाका बीचमा भएको सम्झौताअनुसार २०४७ सालको संविधान बन्यो। अहिले सात पार्टीको सम्झौताका नाममा अन्तरिम संविधान भनेर लागु गरिरहेका छन्।
०अब संविधानसभाले बनाउने संविधान त जनताले बनाउने भए, होइन? –संसारको यस्तो एउटा संविधान मलाई देखाइदिनोस् 'संविधानसभाले बनाएको संविधानलाई जनमतसंग्रहमा नलगी स्वीकार गरिएको' होस्। संविधानसभा भनेको जनताको अप्रत्यक्ष सहभागिता हो। जनताको प्रत्यक्ष सहभागिताबिना निर्माण भएको संविधान संसारमा कहीं टिकेको छैन। देशलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीति बनाउँदा जनताको प्रत्यक्ष सहभागिता भयो भने मात्रै टिक्छ। होइन, हामी ठूला पार्टीले गरेको निर्णय लागु हुनैपर्छ भन्यो भने त्यो टिक्दैन। पार्टी मात्रैले सम्पूर्ण देशको प्रतिनिधित्व गर्दैन। केही वर्गको मात्रै गर्छ। हिजोमात्रै झलनाथको भनाई सुनेको थिएँ–'हामी तीनवटा पार्टी मिल्यो भने सबै कुरा हुन्छ।' त्यो बकम्फुसे कुरा हो।
०कांग्रेसको महाधिवेशन हुन्छ? –मलाई त हुन्छ भन्ने विश्वास छ। किनभने कांग्रेसको महाधिवेशन मुलुकको भविष्यसँग जोडिएको छ। कांग्रेसको सिद्धान्त र व्यवहार आकाश जमिनको फरक भइसकेको छ। राजतन्त्रात्मक मुलुक गणतन्त्रात्मक भइसकेको छ। एकात्मकबाट संघात्मकमा गईसकेको छ। यत्रो परिवर्तन भइसक्दा पनि कुनै पनि निर्णय वा नीतिलाई कांग्रेसले महाधिवेशनबाट अनुमोदन गराएको छैन। पदाधिकारी कांग्रेसीहरूले जबरजस्ती गरेर आदेशका नीतिहरू लादेका छन्। पार्टीभित्र संघीयता सम्भव छैन भन्ने बहुमत हुँदाहुँदै पनि पदाधिकारीहरूलेे जबरजस्ती गरेको कुरामा पछि लाग्नु परेको छ। अर्कोकुरा, कांग्रेस नेपाली राजनीतिको पहिलो नम्बरको शक्ति थियो। अहिले तीन नम्बरमा पुगेको छ। एक नम्बरबाट तीन नम्बरमा कांग्रेसलाई पुर्‍याउने नेताहरूको गल्तीलाई महाधिवेशनमा लैजानु त पर्‍यो नि घ् या गल्ती सुधार्नुपर्‍यो या त उनीहरू किनारा लाग्नु पर्‍यो। पदाधिकारीले गरेको निर्णयकै आधारमा त्यसलाई स्वीकार गर्ने कांग्रेसलाई दुर्गतिमा पुर्‍याउने व्यक्ति र कारणको खोजी गरी त्यसलाई समाधान गर्न पनि महाधिवेशनको आवश्यकता छ।

1 comment:

  1. why you dont give some source of information here ?

    ReplyDelete