Wednesday, March 31, 2010

जातीय राजनीतिको महारोग र सघीयता विरोधी आन्दोलन - केशब देवकोटा


नेपालमा संघीयता देश टुक्र्याउन र नेपालको अस्थित्व समाप्त गर्न ल्याईएको भन्ने कुरा साना वच्चा केटाकेटी बुढावुढी र सर्वसाधारणले समेत वुझिसकेका छन् । त्यसको निर्णय भारतको दिल्लीमा भएको भन्ने खुलासा भएपछि त मानिसको पारा राम्रैसँग चडेको छ । झन माओवादीले त्यसमा जातीयता थपेर सडकवाटै जवरजस्ती कार्यान्वयन गर्ने प्रयास गरेपछि देशभक्त नेपालीहरु राष्ट्र वचाउन जीउ ज्यान छाडेर लागेका छन् । केही समूहले संघीयताको विरोध सँगसँगै विस्थापित भैसकेको राजतन्त्रलाई पनि जोडेर दुवैलाई एकअर्काको पर्याय जस्तो देखाउन नखोजेको भए संघीयता विरोधी आन्दोलन यतिवेला निर्णायक मोढमा पुगिसकेको हुने थियो । माओवादीले आफूलाई देशभक्त पार्टी भन्ने गरे पनि त्यसले नेपालमा अमेरिका र भारतको नेपाल नीति कार्यान्वयन गर्न गराउन अनेक कोणवाट गरेको प्रयासले माओवादी भित्र नेतृत्व तहमा कस्ता ब्यक्तिहरुको वाहुल्यता रहेको रहेछ भन्ने धेरैलाई प्रष्ट हुदै गएको छ । माओवादी भित्र धेरै लडाकु जुझारु र देशभक्तहरु छन् भन्ने कुरामा पनि द्विविधा गर्ने ठाउँ छैन । तर उनीहरुलाई पछाडि पारिएको छ । अनेक तिकडम जान्नेहरु र विभिन्न शक्ति केन्द्र निकटहरु मात्र अगाडि नेतृत्व पङ्तिमा रहेको टिप्पणी पनि वाक्लै हुन थालेको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नेपाल नीति र त्यसको कार्यान्वयन गर्न प्रयास गर्नेहरुको विश्लेषण गरेर हेर्ने हो भने माओवादी मात्र नभएर अन्य वाम तथा गैर वामपार्टी भित्रका कैयन ब्यक्तिहरुको असली चरित्र स्पष्ट हुने छ ।

सघीयताको विरोधमा एकल अभियान चलाउदै आएको राष्टिय जनमोर्चाले जनमानसमा ठूलो आस्था र विश्वास कमाउन थालेको छ । यसैको परिणती स्वरुप संघीयता विरोधीहरुको माच गठन भएको छ र यसको राष्ट्रिय सम्मेलन पनि सम्पन्न भैसकेको छ । माचमा मोर्चाबाहिरका व्यक्तिसमेत आबद्ध हुने क्रम वढ्नुले नेपालको संघीयता विरोधी अभियानले तीव्रता पाउँदै गएको स्पष्ट छ । भावि दिनमा राष्ट्रिय जागरण माच नाम दिइएको यो माचको छातामुनी आम देशभक्त नेपालीहरु गोलवन्ध हुने छन् र संघीयताका नाममा नेपाल र नेपालीको अस्थित्व समाप्त गर्न चाहनेहरुको राम्ररी भण्डाफोर हुने छ । माचमा राष्ट्रिय जनमोर्चासँग निकट नरहेका साहित्यकार र नागरिक समाजका व्यक्तित्व र पत्रकारसमेत समेटिनुले यसको महत्व वढ्दै गएको र जनमानसमा वोध हुदै गएको स्पष्ट हुन्छ । पछिल्ला दिनमा संघीयता विरोधी आन्दोलन वढ्दै गएको छ भने जातीय संघीयताको चर्को नारा दिनेहरु केही हच्किएका छन् । खासगरी नेपाली कांग्रेस र एमालेले जातीय संघीयता र एक मधेश एक प्रदेशको खुलेर प्रतिवाद गरेपछि माओवादी र मधेशवादी दल लगायतका जातीयता र क्षेत्रीयतावादीहरुको स्वर पनि मत्थर वन्दै गएको छ । माओवादीले त आफ्नो संघीयताको मुद्धालाई कसरी कार्यान्वयन गराउने भनेर नयाँ उपायको खोजी गरिरहेको छ । शुरुमा सडकवाटै जातीय गणराज्यको घोषणा गरी जवरजस्ती कार्यान्वयन गर्न गराउन त_िम्सएको माओवादी यतिवेला संवैधानिक समितिमार्फत राज्यको पुनसंरचना गर्न गराउन सहमत वन्दै जानुले पनि संघीयतावादीहरुको अवस्थालाई स्पष्ट गर्दछ । माओवादीले यतिवेला संघीयताको विरोध नहुने गरी त्यसको साँध सीमा र नामांकनका वारेमा संवैधानिक समितिले निर्णय गर्नेगरी ब्यवस्था गर्न सहमति जनाउदै गएको छ । यो माओवादीको आफ्नो संघीयतावादी मुद्धालाई कार्यान्वयन गराउने कुटिल चाल मात्र हो । किनकी देशलाई कुनै पनि किसिमले संघीयतामा लगियो भने ढिलो चाँडो जातीय राजनीतिको महारोगले देशलाई ग्रस्त पार्ने छ र अहिलेको जस्तो सिङ्गो सग्लो नेपाल रहने छैन । संसारका अनेक देश संघीयताका कारण जातीय र क्षेत्रीय युद्धमा फसेर तहस नहस भैरहेको वेला नेपाललाई किन जवरजस्ती त्यसैतर्फ धकेलिदै छ नेपाललाई संघीयतामा लैजाने निर्णय किन दिल्लीमा गरियो र नेपाली जनतालाई जनमत संग्रहद्वारा संघीयतामा जाने कि नजाने भन्नेवारे आफ्नो मत ब्यक्त गर्न दिईदैन भोली संघीयताका कारण देश टुकि्रयो अथवा कुनै विग्रह र विपति आयो भने त्यसको जिम्मेवारी कस्ले लिने यि अहम प्रश्नको उत्तरको खोजी देशलाई संघीय शासनमा धकेल्नु अघि नै हुनु पर्दछ ।
आज विभिन्न जातजातीलाई संघीयताको पक्षधर वनाइएको छ र ब्राम्हण तथा क्षेत्री समूदायलाई मात्र संघीयता विरोधीका रुपमा चित्रित गर्ने प्रयास गिरंदैछ । यसैवाट पनि वुझ्नु पर्दछ कि केही समूहहरु नेपाल र नेपालीलाई विभाजन गरेर आफ्नो कु_ित्सत मनशाय पूरा गर्ने प्रयास गरिरहेका छन् । नेपालको आफ्नो छुट्टै विशिष्ठ परिस्थिति र अवस्था छ । यसका आफ्ना छुट्टै मूल्य मान्यता र आदर्शहरु छन् । यसको आफ्नो छुट्टै विशिष्ठ र गौरबमय इतिहास छ । त्यसैले यसको राजनीति र राज्यको संरचना पनि आफ्नो छुट्टै र मौलिक खालको हुनुपर्दछ । संसारमा असफल भएका र भारतमा प्रयोग भएका मोडलहरु नै चाहिन्छ भन्ने छैन । नेपालका राजनेताहरु नेपालको विशिष्ठ परिस्थितिको आंकलन गर्न र त्यस अनुरुपको राज्य ब्यवस्था निर्धारण गर्न सक्तैनन् भने पुरानै राज्यसंरचनामा नयाँ ब्यवस्था लागु गर्दा पनि फरक पर्दैन । राज्यको पुरानो संरचना सवै भत्काउनै पर्छ भन्ने छैन । त्यसका कमी कमजोरीहरुलाई सुधार गरेर गणतन्त्र नेपाललाई चीरस्थायी वनाउन पनि सकिन्छ । नेपालका सन्दर्भमा संघीयता रोग र जातीय संघीयता महाँरोग हो । त्यो सल्काएर देशलाई वर्वाद पार्ने काम कोही कसैबाट नआओस ।

जनसागर उठ अब संघीयता फाल्नै पर्‍यो - कमला क्षेत्री

जनसागर उठ अब संघीयता फाल्नै पर्‍यो
देशद्रोहीले पिरे देशलाई वर्गीय आगो बाल्नै पर्‍यो।

नेपाली यो भूमिमा बजार्दैछन् बैरीले बुट
सिमामिच्ने अपराधिलाई समाति नेल हाल्लै पर्‍यो।

देश विकासमा हात झक्छन् बिगार्नलाई अघि सर्छन्।
जनवर्गीय आयो बाली कठोर मनलाई गाल्नै पर्‍यो।

किल्ला पर्खाल भत्काएर बैरी भित्र पस्दै आयो
देश द्रोहीले चैन फेर्छन् तिनलाई अब ढाल्नै पर्‍यो।

जनसागर उठ अब संघीयता फाल्नै पर्‍यो।
देशद्रोहीले पिरे देशलाई वर्गीय आगो बाल्नै पर्‍यो।

Tuesday, March 30, 2010

जातीय राज्य नेपाली निम्ति कि परचक्रीका लागि? – मोदनाथ प्रश्रित

संविधानसभा निर्वाचनपछि राज्य पुनर्संरचना सम्बन्धमा जे जस्ता माग र नारा आए र अन्ततः जातय संघको जस्तो नक्सा प्रस्तुत भयो। त्यसले नेपाली जनताका बीचमा नै ठूलो विवाद र विरोधको स्थिति देखा पर्दैछ। दुई ठूला देशका बीचमा, भूपरिवेष्ठित मुलुकका अनेकौं समस्या झेलेर पनि शताब्दीऔंदेखि नेपाली जनता आपसमा ज्यादै हार्दिक रूपले मिलेर बसेका थिए। सबैले भोग्दै आएको निरंकुश सामन्ती व्यवस्था फालेर लोकतान्त्रिक गणतन्त्र युगमा प्रवेश गरेपछि जनताको एकता झन् सुदृढ भई विकास प्रक्रिया तीब्र रूपले अघि बढ्ने जुन प्रबल आकांक्षा थियो, त्यो सबै भत्कँदै जाने हो कि भन्ने आशंका जनतामा बढ्दै गएको छ।
दुईहजार वषर््को सामन्ती व्यवस्थामा वर्णभेद, जातिभेद र वर्गभेद तीब्र हुनाले नेपाली जनताको ठूलो संख्या अनेकौं समस्याबाट पीडित थियो। त्यो सबैको सही समाधानका लागि सबै जनतालाई समान न्याय, अधिकार मर्यादा दिने संविधान बनाउन सबैको सही समाधानका लागि सबै जनतालाई समान न्याय, अधिकार र मर्यादा दिने संविधान बनाउन सबैको प्रतिनिधित्व भएको संविधानसभा चुनिएको हो। तर संविधान निर्माण अघिको पृष्ठभूमिमा जातीय र क्षेत्रीय माग उठाएर यस्ता आनदोलन चलाइए, जसबाट नेपाली र सामञ्जस्यको स्थिति झन्झन् खल्बलिन थाल्यो। नेकपा (माओवादी) ले वर्गीय र राष्ट्रिय नीति तथा कार्यक्रम विपरीत जातीय र क्षेत्रीय नारा यसरी उराल्यो, जसबाट नेपाली जनताको परम्परागत हार्दिकता र एकता क्रमशः खल्बलिन थाल्यो। हिजो राजनीतिक सिद्धान्त र आदर्शमा संगठित जनता त्यहाँबाट फुटेर जातीय र क्षेत्रीय दल बनाउनेर जनताकै अर्को पक्षविरूद्ध आरोप प्रत्यारोसहित विद्वेष बढाउने गलत बाटोतिर भड्किन थाले। हुँदाहुँदै मधेसी र पहाडीका नाममा, जनजाति र बाहनु क्षेत्रीका नाममा, तराई बासी र मधेसवासीका नाममा नाराबाजी, गालीगलौज, आक्रमण, कुटपिट चल्न थाल्यो। त्यसक्रममा तराईका पुखौर्ंंदेखि बसेका पहाडी मूलका जनतामाथि मधेसवादी गुटहरूको यस्तो आक्रमण हुन थाल्यो, उनीहरूका हजारौं परिवार विस्थापित भएर पहाडतिर फर्कन बाध्य भए। उनीहरूले पुस्तौंदेखि आर्जेको जमिन र सम्पत्ति गुमाउनुपर्‍यो।
अर्कोतिर जनजाति क्षेत्रमा बाहुनक्षेत्रीविरूद्ध उग्र नारा लाग्न थाले। विगत दुई हजार वर्षको सामन्त शासन, शोषण र दमन विभिन्न जातजातिका सामन्त वर्गद्वारा सबै जातजातिका जनतामाथि भएको थियो। त्यसको प्रतिक्रियास्वरूप शोषितपीडित जनताद्वारा आफ्नो विरूद्ध हुन सक्ने तीब्र संघर्षबाट बच्न तराई मधेश र जनजाति क्षेत्रका सामन्त शोषकहरूले क्षेत्रीय र जातीय विरोधका साम्प्रदायिक नारा उराल्न थाले। त्यस गलत र उल्टो प्रवृत्तिविरूद्ध राजनीतिक दलहरूले सही नीति र सशक्त कार्यक्रम लिएर अघि बढ्नुको सट्टा माओवादीको नारा र क्षेत्रीय, जातीय नाराको बहकाउमा लागेर आफ्ना मूल सिद्धान्त र कार्यक्रम ओझेलमा पार्दैगए। त्यसको परिणाम जातिवाद र क्षेत्रवाद विध्वंसकारी बर्खे बाढीका रूपमा उर्लेर परस्पर मिलेर बसेका जनएकता छिन्नभिन्न पार्दैछ। तर दलहरू त्यसको सही विवेचना गरी अघि बढ्नुको सट्टा निरीह र लाचार बढी नसनाडी गलाएर साम्प्रदायिक आँधीको समर्थनमा ताली ठोकेर पछि लाग्ने अवस्थामा पुगेका छन्। यस मामलामा नेपाली कांग्रेस, नेकपा मसाल र नेपाल मजदुर किसान पार्टी झुकेका छैनन्। तर नेकपा एमाले जस्तो पार्टी आफ्ना बहुसंख्यक कार्यकर्ता र समर्थक जनताका भावना र आकांक्षा विपरीत “चैत हुरी”को पछिपछि लत्रेर हिंडिरहेको छ। “जनताको बहुदलीय जनवाद” जस्तो युगानुरूप सिद्धान्त र कार्यक्रम बोकेको एमाले, माओवादी जातिवादीहरूको हावापछि कुद्न थाल्नु लाजमर्दो कुरा हो।
वि.सं. १९८८ देखि २०६३ को पौने शताब्दीका अनेकौं राजनीतिक संघर्षमा विजयी भएर यहाँसम्म आइपुगेपछि पनि देशभित्र प्रतिक्रिायवादी तत्वहरूका उल्टा प्रवृत्तिहरू जसरी उत्तरोत्तर बढ्दैछन्। यसबाट प्रष्ट हुन्छ। नपाली जनताकेा अग्रगति रोक्न र जनतालाई आपसमा जुधाउने षडयन्त्रका तानाबाना अहिलेमात्र होइन, दुई दशकदेखि नै क्रमशः बुनिंदे आएका थिए। यस खतरनाक अभियानमा नेपालीलाई फसाउन विदेशी तत्वहरू निरन्तर क्रियाशील थिए भन्ने संकेतहरूको एउटा श्रृंखला नै देखा पर्दै आएको छ। त्यतातिर हामी सबैको गहिरो ध्यान जानु आवश्यक छ।
यस सन्दर्भमा हामीले सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक, जातीय, क्षेत्रीय आदि अनेक क्षेत्रमा देखा पर्दै आएका लक्षण चिन्नुपर्छ। त्यसका साथै विदेशीहरूले विभिन्न संघसंस्था, एनजीओ, आईएनजीओ आदिका माध्यबाट बनाएको खतरनाक वातावरणको गहिरो विवचेना गरी आम जनतालाई सही दिशामा अग्रसर गराउन ठूलो अभियान चलाउनुपर्ने आवश्यकता छ।
अहिले जटिल समस्याका रूपमा प्रकट हुन लागेका केही विषयबारे यहाँ संक्षेपमा चर्चा गरौं।
१. राज्य पुनर्संरचना जस्तो गम्भीर विषयमा देशका सबै क्षेत्रका जनताको राय सल्लाह नलिई १० जातिलाई राज्यका मिालक र अरूलाई राज्यविहिन बेवारिसे रूपमा राख्ने अचम्मको नाटक गरियो। जुन १० जातिलाई राज्यका हकदार बनाइयो, ती क्षेत्रका ती सबै अल्पसंख्यकका रूपमा छन्। यसको प्रष्ट अर्थ हो –ती अल्पसंख्यक जातिबाहेक अरू जातिर्ला राज्यको अधिकार छैन।
नेपालमा बहुसंख्या या ठूलो संख्यामा रहेका बाहुन, क्षेत्री, दलित, मुसलमान आदि राज्यका हकदार किन भएनन्? उल्टै उनीहरूलाई उपेक्षा गरी “अन्य” अर्थात् खास महत्व दिनुनपर्ने तहमा राख्ने दुस्साहस गर्ने गराउनेको हा?यसरी “अन्इ”मा राखेर बेबारिसे बनाउन थालेपछि जब क्षेत्रीहरूले संघीयतामा प्रश्न उठाएर प्रदर्शन गरे, उनीहरू मध्ये एकजनाको नाक काट्ने जस्तो गम्भीर अपराध गरियो। अनि “संघीयताविरूद्ध कसैलाई बोल्न र सडकमा उत्रन नदिने धम्की दिन थालियो।
देशका सबै जाताले समान न्याय र अधिकार पाऊन् भनेर सात दशकदेखि संघर्ष गर्दै आएको उपलब्धि यही हो? मध्ययुगिन सामन्ती विभेद र शोषणभन्दा पनि घृणित पक्षपातपूर्ण व्यवस्था ल्याउन हो सयौं। हजारौं सहिदले संघर्षमा मैदानमा जीवन अर्पेको?
अहिलेको विश्वमा केही यस्ता शासक पनि छन्, जो आफूलाई “लोकतान्त्रवादी”, “मानवतावादी” आदि कल्कीले सजाउँछन्। तर उनीहरूका षडयन्त्रकारी प्रवृत्ति मध्ययुगिन क्रुर सामन्तहरूका निकृष्ट जनघाती प्रवृत्तिभन्दा पनि खतरनाक छन्।
हामीले भुटानमा देख्यौं, मंगोल मूल र नेपाली मूलका भुटानी जनताबीच फाटो पारेर परस्पर भीडन्तको स्थिति तयार पारियो। नेपाली मूलका भुटानी जनताले लोकतान्त्रिक व्यवस्थाको माग गर्न थाले। तर उल्टै उनीहरूलाई आफ्नो भाषा, संस्कृति, पोषाक, रहनसहन छोडेर तिब्बतीखाले भाषा, संस्कृति, पोषाक आदि अंगाल्न बाध्य पार्न थालियो। त्यस्ता कुरा नमानेको निहुँमा उनीहरूलाई बलजफती ट्रकमा हालेर नेपालतिर लखेटियो। यहाँ वर्षौंसम्म शरणर्थी भएर उनीहरू स्वदेश फर्कन खोज्दा बाटो छेक्ने काम प्रष्ट रूपमा भारतले गरिरहेछ। यसबाट प्रष्ट हुन्छ भुटानमा दुई भाषा, संस्कृतिका जनता जुधाएर त्यहाँको प्राकृतिक स्रोत, साधन हात पार्ने काममा भारत सक्रियरूपले लागिरहेको छ।
भुटानमा त्यो स्थिति ल्याउन अरू देशको पनि षडयन्त्र रहेछ भन्ने कुरा भुटानी शरणार्थीलाई आफ्नो देशमा फर्कन नदिई समुद्रपारिका देशका स्थायी शरणार्थी बनाउने दुश्चक्रबाट स्पष्ट भएको छ। पाकिस्तान कसरी विभाजित भयो। श्रीलंकामा तीन दशकसम्म कसरी जातिसंहारक युद्ध मच्चाइयो। यस्ता कुरा संसारका आँखालपे स्पष्ट देखेको छ। अहिले नेपालमा जसरी जातीय गणराज्य र “एकमधेश एक प्रदेश” जस्ता नाराका साथ आत्मनिर्णयको अधिकारका नारा लगाइँदैछ र त्यसको भावी गम्भीर परिणामलाई वास्तै नगरी जसरी संविधानसभाबाटै देशको अंशबन्डा गरिंदैछ। यस विषयमा आँखा चिम्लेर प्रस्ताव तयार गर्ने नेता र दलहरूलाई कसका सेवक र पृष्ठपोषक भन्ने? प्रष्ट छानविन आवश्यक छ।
नेपाली जनताको पनि लामो लोकतान्त्रिक संघर्षपछि सम्पूर्ण जनता मिलेर आफ्नो देशको सुनौलो भविष्यको तयारी गर्ने बेला जसरी सुनियोजित ढंगले जातीय विभाजनका पूर्वाधार तयार गरिंदैछ, अब सोच्नुपर्ने भएको छ– यसको दीर्घकालीन तयारी कहिलेदेखि हुँदै थियो? हामीले विगत दुई दशकयता सांस्कृतिक , भाषिक, धार्मिक, जातीय, क्षेत्रीय आदि विषयमा जेजस्ता विवादको विजारोपण भएको देख्दै आयौं, अब प्रष्ट हुँदैछ– ती सब अहिलेको परिस्थिति सिर्जना गर्ने पूर्वाधारका काम थिए।
एकपटक दशैं चाडबारे ठूलो बहस उठाइयो। “यो चाड जनजातिको होइन बाहुन, क्षेत्रीको हो। हाम्रो अपमान गर्न हामीमाथि यो जबरजस्ती लादिएकाले यसका बहिष्कार गर्नुपर्छ” भन्ने खुब हल्ला पिटाइयो। वास्तवमा दशैं मातृपुजाको परम्परामा आधारित चाड हो। त्यसबेला पुजिने देवीहरू हरेक जातिका आदिमाताका प्रतिक हुन्। नपालमा दशैंमा रंगीन अछेता र जमरा लगाउने, बोका, रांगा काटेर देवीलाई चढाई प्रसादका रूपमा मासु खाने जुन चलन छ, नेपालको तराई र भारतका बाहुन,क्षेत्रीहरूमा त्यस्तो चलन देखिंदैन। त्यो विशुद्ध नेपालका पहाडी जनजातीय संस्कृतिको रूप हो। त्यसमा ठाउँ अनुसार बाहुन, क्षेत्रीका पुजापाठका तरिका पनि मिसिएर समन्वित रूप बनेको छ। त्यस्तो विषयको विवाद र बहसले विभिन्न जातजातिबीचको परम्परागत सांस्कृतिक रिवाजमा आशंका बढाउने र सद्भाव घटाउने बाहेक के कुरा हात लाग्यो त?
त्यसपछि जनतामा संस्कृत भाषा लादियो भन्ने विवाद शुरू गरियो। नेपाल र छिमेकका नेपाली, मैथिली, भोजपुरी, अवधि, राजवंशी बंगाली, हिन्दी, कुमाउनी, गढवाली आदि भाषाको माउभाषा संस्कृति हो र यी भाषाको व्याकरण संस्कृतकै आधारमा बनेका छन्। यी भाषाले नेपाली जनताको आत्मीयता र सांस्कृतिक सद्भाव बढाउन ठूलो भूमिका खेलेका छन् र साहित्यिक सम्पदाको विकास गर्दैछन्। यी सब कुरामा ध्यान नदिई संस्कृत जस्तो जनजातीय भाषाहरूको विकासमा समेत सहयोग पुर्‍याउने भाषाको विरोधको कारण कि थियो त? आफूलाई खुब क्रान्तिकारी ठान्ने माओवादीहरूले संस्कृत विश्वविद्यालयमा आगो लगाउनु, संस्कृतका शिक्षकहरूलाई पिट्नु, मार्नु आदिको वास्तविक उद्देश्य के रहेछ त?
त्यसपछि शुरू भयो– नेपाली भाषाको विरोध। नेपालका मैथिली, भोजपुरी, अवधि आदि भाषाको जस्तै नेपाली भाषाको मूल स्रोत पनि संस्कृत हो। तर तराईबासीहरूका बीचबाट नेपाली भाषाको अन्धाधुन्ध विरोध चलाइयो र त्यसको ठाउँमा तराई– मधेसका एक डेढ प्रतिशत जनताले मात्र बोल्ने हिन्दी भाषा घुसाउनुपर्ने बहस छेडियो। सबैलाई थाहा छ– नेपालमा ८० प्रतिशतभन्दा बढी जनताले नेपाली भाषा बुझ्न सक्ने स्थिति तयार भएको छ। यसको धुवाँधार विरोधको कारण जनतमा परम्परा अविश्वास बढाउनु बाहेक अरू केही देखिन्न्।
अर्को ध्वंसात्मक अधियान चल्यो–पृथ्वीनारायण, भानुभक्त आदिका मुर्ति, स्मारक, पुरातात्विक बस्तु फोर्ने। फेरि अर्को रडाको तराईमा देखा पर्‍यो– पहाडीहरू पहाड जाऊ नाराका साथ। नेपालको पहाडी क्षेत्रमा लाखौं तराई–मधेश मूलका मानिस अनेक व्यवसायमा संलग्न छन्। नेपालका पहाडबासी जनताको ठूलो हिस्सा तराई –मधेसतिरबाट प्राचीनकालदेखि निस्केका यादव, शाक्य, लिच्छवि, मल्ल, बाहुन,क्षेत्री, मुसलमान आदिको छ। तर पहाड र हिमालमा कसैले तराई मूलका मान्छे तराई जाऊ भनेको छैन।
अनि हिन्दुधर्म मान्ने बाहुनक्षेत्री र पन्डितपुरोहितहरूलाई जबरजस्ती गाईको मासु र रक्सी ख्वाउने, कुट्ने, मार्ने जस्ता अभियान चलाइयो। त्यसको नेतृत्व माओवादी पार्टीले गर्‍यो विभिन्न जाति, जनजातिको धर्म, संस्कृतिको संरक्षणका नाममा जातीय राज्यको समेत वकालत गर्ने माओवादीले हिन्दुधर्म मान्ने बहुसंख्यक नेपाली जनताको भावनाविरूद्ध यस खाले निर्मम अत्याचारको अभियान किन चलायो? एकातिर राज्यलाई धर्मनिरपेक्ष बनाई धर्मलाई स्वेच्छिक पालनको विषय मान्ने अर्कोतिर हिन्दुधर्ममाथि जबरजस्ती आक्रमण गर्ने काम कसको सेवानिम्ति हो? यसखाले सम्पूर्ण प्रवृत्ति र पृष्ठभूमि तयार गर्नुको उद्देश्य अहिले प्रष्ट हुँदैछ। त्यो रहेछ– विदेशी शक्तिको सेवानिम्ति नेपाली जनताको एकता र आत्मीयताको पाँचसात हजार वर्षको इतिहास खलबल्याएर अविश्वास र विद्वेष जन्माई बाहिरी शक्तिको मनोरथ पूरा गर्नु हो।
यो सम्पूर्ण पृष्ठभूमिको तयारीपछि अहिले नेपालका सयौं जाति, जनजातिमध्ये केहीलाई राज्यको मालिक बनाई अरू जातिलाई र विशेषगरी बाहुन,क्षेत्रीलाई अन्य (पराई) मा धकेली देशमा असन्तोष र विद्रोहको स्थायी आगो सल्काउने खतरनाक खेल शुरू भएको छ। एउटा सानो नानीले पनि बुझ्नसक्छ–यस्तो भागबन्डाको बाँदर नीतिको परिणाम नेपाल र नेपालीले ज्यादै लामो समयसम्म अनेक सास्ती भोग्नुपर्नेछ। यसको सहज र स्वाभाविक परिणामका रूपमा जातीय राज्य र संघीयताकै विरूद्ध जनताको तीब्र आक्रोशको लहर देशभरी फैलिंदैछ। देख्दादेख्दै नेपाली जनतालाई राज्यका नाममा जुधाउने, अल्पसंख्यक जातिलाई मालिक बनाई बहुसंख्यकलाई प्रतिशोधमा उतारी गृहयुद्ध मच्चाउने विदेशी षडयन्त्रमा राजनीतिक दलका नेताहरू नराम्ररी मुछिएका छन् र धेरैले आफैलाई बेचिसकेका लक्षण पनि देखिंदैछन्।
जब मानिसले आफ्नो देशभित्र आफू राज्यविहिन हुन थालेका अनुभव गर्छ, त्यसबेला पक्षपाती षडयन्त्रपूर्ण कथित जातीय राज्य र संघीय राज्यविरूद्ध संगठित रूपले उत्रनु अनिवार्य हुन्छ। अंग्रेजी उपनिवेशवादविरूद्ध ठूलो संघर्ष गरेर नेपाल एकीकरण गर्ने पूर्वजका सन्तान नेपाली के दृष्टिविहिन र विवेकहीन नेता भनिने परचक्रीहरूका गुमस्ता भएर चप लागि बस्न सक्छन्? जातीय र संघीय पक्षपातीहरूको ध्येय पहाडीविरूद्ध, बाहुन, क्षेत्रीविरूद्ध र समग्रमा नेपाली जनताविरूद्ध विद्वेष फैलाएर नवउपनिवेशवादीहरूका निम्ति सुगम बाटो खोलिदिनु हो भन्ने कुरा खुलस्त हुँदैछ।

बैरी नेपाल छिरेपछि के गर्छौं? - कमला क्षेत्री Nawalparasi

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौ
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौं।

पूर्व पश्चिम तराईतिर अतिक्रमण बढिरहेछ
चारैतिर घेरी देशलाई पिरेपछि के गर्छौं।

उठ्नै पर्छ युवा वर्ग शान्ति ल्याउन यो देशमा
नेपालबाट शान्ति सधै फिरेपछि के गर्छौं।

स्वाभीमानी नेपाली हो नझुकाउ ठाडो शीर
नेपाली यो स्वाभीमान गिरेपछि के गर्छौं।

संघीयता भित्र्याई देश चिरेपछि के गर्छौं
सीमा मिच्दै बैरी नेपाल छिरेपछि के गर्छौं।

Tuesday, March 23, 2010

संघीयताको विकल्प सशक्त र स्वायत्त स्थानीय सरकार – केशवप्रसाद भट्टराई


संघीयताको अवधारणालाई नेपाली जनताले अधिकार ग्रहण गरेको देखिंदैन। पृथ्वीनारायण शाह, बहादुर शाह, जंगबहादुर हुँदै बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, राजा महेन्द्र, वीरेन्द्र, मदन भन्डारी र महेन्द्रनारायण निधिहरूको प्रबल राष्ट्रवादी चेतनायुक्त नेतृत्वहरूका कारण वाञ्छित ल73य प्राप्त हुन नसकेपछि नेपालको इतिहासको सबैभन्दा कमजोर राजनीतिक नेतृत्व रहेको समयमा नेपाली राजनीतिका लोभीपापी, सत्तालम्पट स्वार्थ समूहहरूको दौर्वल्य दोहन गर्दै विभिन्न वैदेशिक स्वार्थ समूहहरू र तिनका नेपाली एजे48टहरूले नेपालमा संघीयता लादेका हुन्। यसको अन्तिम ल73य नेपालको विखन्डन हो भन्ने छर्लङ हुंदै गइरहेको छ। नेपाली जनताले यो षडयन्त्रलाई बुझ्दै गएका छन्। त्यसैले आज चित्रबहादुर के.सी., मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित र नारायणमान विजुक्छेहरू नेपाली जनताका वास्तविक नायक बन्दै गइरहेका छन्। यो सवालमा कांग्रेस र एमालेका नेता भन्दा प्रदीप पौडेल र रामकुमारी झाँक्रीहरू बढी परिपक्कव र जिम्मेवार देखिएका छन्। संघीयताबाट उत्पन्न हुने विघटनकारी सोचलाई व्यवस्थापन गर्ने राज्य क्षमता र राजनीतिक सामर्थ्य हामीसँग छैन भन्ने पनि सबैले बुझ्दै गएका छन्। संघीयतावादी राजनीतिक दलहरूभित्र पनि यी सवालहरूलाई लिएर तीब्र धु्रवीकरण भइरहेको छ। ती दलहरूमा संघीयताको वकालत गर्ने नेताहरू पनि पार्टीहरूले सम्झौता गरेका कारण मात्र यसलाई स्वीकार्नु परेको नत्र ठीक होइन भन्न थालेका छन्। अनुपयुक्त र जनताको समर्थन नभएको एजेन्डामा बाँधिनु परेका कारण नै संघीयताको सवालले विवाद र विग्रहहरू निर्माण गरिरहेछ। यसैकारण निर्धारित मितिमा संविधान बन्ने सम्भावना नदेखिएका हुन्।
प्रस्ताविकत भावी राज्यको स्वरूपबारे देश अराजक र दविधाग्रस्त भइरहेको सुमयमा केही अघि राजेन्द्र सापकोटाले राधानी दैनिकमा विनोद चौधरीले कान्तिपुर दैनिकमा अ त्यन्त जिम्मेवार ढंगले केही गम्भीर सवालहरू उठाएका छन्। यो पंक्तिकारले नेपाल शिक्षक संघ र नेपाल शिक्षक युनियनको पछिल्लो महाधिवेशनमा नदी प्रणालीमा आधारित प्रान्तीय स्वरूपको प्रस्ताव प्रस्ततु गरेको थियो। २०६५ फागुन २०६६ वैशाखमा भएका दुवै संस्थाका महाधिवेशनहरूले त्यसलाई सर्वसम्मतिले अनुमोदन गरेका थिए। राष्ट्रिय एक्ताका सबै आधारहरू क्षतविक्षत पारिएका, जातीय र साम्प्रदायिक सद्भावहरू लथालिंग हुने गरिी भत्काइएको रा अस्थिरता, अराजकताग्रस्त र अत्यन्त कमजोर आर्थिक स्थितिले निर्माण गरेको दबाबहरूको बीचमा राजनीतिक दलहरूको सामाजिक आधार हराएको र सरकारको उपस्थिति पनि हर क्षेत्रमा निरिह रहने गरेको अवस्थामा संघीयता हाम्रो आवश्यकता होइन। नेपाल संघीयतालाई धान्न सक्न्े अवस्थामा छैन। हाम्रो वर्तमान र विगतको पीडादायी सत्य भनेको हामीसँग प्रभावकारी केन्द्रीय र स्थानीय शासन अनुपस्थित हुनु हो। स्थानीय सरकारको स्वरूप नै नआउनु हो। सबै शासकीय संयन्त्रहरू अति राजनीति र भ्रष्टाचारग्रस्त रहिरहे। स्थानीय शासनका इकाईहरू स्थानीय जनताप्रति उत्तरदायी हुन सकेनन्। उनीहरू केन्द्रीय सरकार र सम्बद्ध राजनीतिक दलका भ्रष्ट स्वार्थका मात्र प्रतिनिधि रहे। त्यसैमा संघीयताको खोल ओढेर विघटनकारी स्वार्थ समूहहरू प्रवेश गरे। मूलतः नेपाली जनताले खोजेको वास्तविक प्रतिनिधिमूलक र उत्तरदायी शासन हो। मुलुकको साधन, स्रोतमा सबै नागरिकहरूको पहुँचत र अधिकार हो। मुलुकको विकास स्थिरता र समृद्धि साथै शान्ति, न्याय र हरेक नागरिकको सम्मानको वातावरण हो। आफ्नो पहिचान र संस्कृतिको संरक्षणसहित उपरोक्त सबै कुरालाई सुनिश्चित गर्ने राज्य प्रणालीलाई प्रत्याभूत गर्ने संविधान नेपाली जनताको माग र आवश्यकता हो। प्रष्ट छ, नेपालीहरू संविधानमार्फत एउटा नयाँ राज्य संरचनाहरू निर्माण गर्दैछन्। यो भनेको बनोट र स्वरूपमात्र नयाँ होइन, क्षमता र प्रभावकारितामा पनि नयाँ हो। हाम्रा सबै अभाव, समस्या र चुनौतीहरूलाई कुनै ढाँचाले मात्र समाधान दिन सक्दैन। जनताको नजिक रहने, उनीहरूका सुख, दुःख र सरोकारका सबै सवालहरूमा जनतासँग जोडिने र उनीहरूका हित र स्वार्थहरूलाई उत्तम ढंगले प्रतिनिधित्व गर्ने राज्य र सरकार निर्माण हाम्रो प्रमुख चुनौती हो। यी चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम राज्यप्रणाली नै प्रजातन्त्रको परिचय र वैधता हो। यसले प्रणालीले मात्र आफूसँग सम्बन्धित सवालहरूबारे निर्णय गर्न र जोखिम लिनसक्ने नागरिक क्षमता विकास गर्दछ। यो नै प्रजातन्त्रको सार सन्देश हो।
आज सिंगो विश्व हाम्रो चोटा कोठामा प्रवेश गर्न थालिसकेको छ। हाम्रा अभाव र आवश्यकताहरूका लागि हामीलाई धेरै तह र क्षेत्रमा सरकारहरू चाहिन्छन्। गाउँ, जिल्ला र राष्ट्रिय संरचनाहरू हुँदै राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय एजेन्सीहरू पनि सरकारकै रूपमा विकास र विस्तारित भइसकेका छतन्। त्यसैले हाम्रो छिमेक, क्षेत्र र विश्वस्तरकमो सरकारको चरित्रलाई पनि हामीले हाम्रो राष्ट्रिय सरकारको स्वरूप निर्माण गर्दा ध्यान दिनुपर्ने हुन्छ। आज बेलायत, फ्रान्स वा जर्मनीका नागरिक तथा सरकारहरू मुलुकभित्रको राजनीतिक वा आर्थिक एजेन्डामा निर्णायक छैनन्। उनीहरूसँग सम्बन्धित कतिपय सवालहरूमाथि यूरोपेली समुदायको नियन्त्रण रहने गरेको छ। हाम्रो समयको चुनौती वा अवसर जे भने पनि हामीहरूमाथि एउटै सर्वाधिकार सम्पन्न संयन्त्रको अनुपस्थिति हो। कसैका पहिचान, आर्थिक आवश्यकता, राजनीतिक अधिकार र नागरिक स्वतन्त्रतालाई प्रत्याभूत गर्ने संयन्त्रहरू राज्यका सीमाभित्र मात्र छैनन्। कुनै राज्य जतिसुकै बलियो र सम्पन्न भए पनि आफ्नै बलबुतामा नागरिकहरूलाई ती सबै अधिकारहरू उपलब्ध गराउन सक्षम छैन। कमजोर मुलुकले त झन सक्दैन। आफै दिन पनि सक्दैन र विश्व व्यवस्थाभित्रबाट भूमन्डलीय नागरिकका रूपमा उपलब्ध हुने अधिकारहरूको उपभोग गराउन पनि सक्दैन। त्यसैले एउटा अखन्ड र एकताबद्ध नेपालबेगर नेपाली नागरिकहरू आजको भूमन्डलीय समाजमा बाँच्न, टिक्न र पौरख गर्न सक्दैनन्। हामी जाति, क्षेत्र र सम्प्रदायका आधारमा राज्यको भागबन्डाको हिसाब लगाइरहेका छौं तर हामीलाई चाहिने अन्न, काठपात, पानी बिजुली, रोजगारी र बजारका पृथक भूगोलहरू छन्। यी सबै भूगोलहरू जोडिने अझ बलियो राज्य बनाउन सकिएन भने यो मुलुकले संसारका कुनै पनि मुलुकले नबेहोरेको जातीया मारकाटाको स्थिति भोग्नुपर्नेछ। हाम्रो जस्तो जटिल जातीय बनोटको राज्यको अनुभव सम्भवतः दुनियाँसँग छैन। हाम्रा जस्ता अनुत्तरदायी र अराजक नेता पनि कमै देशमा छन्। त्यसैले हामी संसारको सबै भन्दा गरिब, असुरक्षित र अशान्त मुलुकमध्येमा छौं। राज्यको स्वरूप निर्धारणको आधारहरू उपरोक्त सन्दर्भमा राज्यको एकीकृत स्वरूप र सवल र स्वायत्त स्थानीय शासन हाम्रो समस्याको समाधान हो भन्ने लाग्छ। त्यस्तो स्थानीय शासनका इकाईहरू गठन गर्दा देहायका आधारहरूलाई अवलम्बन गर्न सकिन्छ। संविधान भनेको राज्यका विभिन्न अंगहरूको परस्पर उनीहरू र नागरिकहरूबीच र स्वयं नागरिक नागरिकहरूका बीच एक अर्काप्रतिको एकल वा संयुक्त दायित्व निर्वाहलाई प्रत्याभूत गर्ने एउटा बृहत राष्ट्रिय सम्झौता हो। यस्तो सम्झौताको लिखित बनाउँदा राष्ट्रिय र स्थानीय सरकारको गठन नीति, राज्य संचालनका रणनीतिक अभ्यास र परम्पराहरू र शासकीय निर्णय प्रक्रियामा हरेक नागरिकहरूले समानरूपमा सहभागी हुन पाउने अधिकारहरू र मुलुकमा उपलब्ध सबै साधन र स्रोतहरूमाथि नागरिकहरूको स्वामिात्वका समान विधि र पद्धतिहरूलाई पनि व्यवस्थित गरेको हुन्छ।
संयुक्त राष्ट्रसंघले स्थानीय सरकारको गठन विधि र स्वरूपबारे एउटा निर्देशिका तयार गरेको छ। यसअनुसार जनता नजिक रहेका निर्वाचित व्यक्तिहरूबाट सार्वजनिक दायित्व निर्वाह हुने गरी स्थानीय शासनको गठन गरिनु पर्दछ। राज्यको शक्ति सरकारका विभिन्न तहबाट प्रयोग हुने र स्थानीय शासनले राज्यको शासकीय अधिकारमा पूर्ण साझेदारी पाउने कुराको संवैधानिक र कानुनी ग्यारेन्टी हुनुपर्दछ। केन्द्र सरकारले राष्ट्रियस्तरका सेवा प्राप्त गर्ने नागरिकहरूका अधिकारहरूको प्रचलन गर्ने गराउने सवालमा स्थानीय शासनसँग नियमित परामर्श गरिने व्यवस्थाका साथै स्थानीय शासनका इकाईहरूले स्वतन्त्रतापूर्वक केन्द्रीय सरकारको हस्तक्षेपबिना आ–आफ्ना कानुनी दायित्वहरू निर्वाह गर्न पाउने व्यवस्था गरिनुपर्दछ। त्यसैगरी, यूरोपेली समुदायले पनि स्थानीय स्वशासनसम्बन्धी एउटा वडापत्र जारी गरेको छ। वडापत्रअनुसार स्थानीय निकायको अधिकार र कर्तव्यहरूबारे संविधान र कानुनले स्पष्ट व्यवस्था गरेको हुनुपर्दछ। कानुनले दिएको अधिकार क्षेत्रभित्र रही काम गर्न उनीहरूलाई पूर्ण स्वतन्त्रता प्रदान गरिनु पर्दछ। राज्यले आफ्नो सार्वजनिक दायित्व निर्वाह गर्दा नागरिकहरूनिकट रहेका संस्थाहरूबाट मात्र गर्नु पर्दछ। स्थानीय निकायहरूको अधिकार पूर्ण र अभिन्न हुनु पर्दछ एवं केन्द्र सरकारले प्रत्यायोजन गरेका अधिकारहरूलाई स्थानीय आवश्यकता अनुसार संयोजन र समायोजन गर्ने अधिकारहरू पनि सबै स्थानीय सरकारहरूलाई उपलब्ध हुनुपर्दछ। यसरी हेर्दा राज्यका शक्ति र साधनलाई नजिकैबाट जनताको सेवा, सुविधा र सुरक्षामा स्थानीय माग र प्राथमिकता अनुरूप लगानी गर्नु नै नेपालको प्रमुख चुनौती हो। यसरी नजिकैबाट जनताका हित र सरोकारहरूलाई प्रतिनिधित्व गर्दै, उनीहरूलाई सबै राज्य सेवा प्रदायकका स्थानीय तहमा उपयुक्त र सहज आकारका इकाईहरू िवकास गरिनु पर्दछ। यस्ता इकाईहरूको गठन गर्दा ऐतिहासिकता, भौगोलिक बनोट, आर्थिक विकासका सम्भावनायुक्त आधारहरू र स्थानीय शासनका इकाई अन्तर्गतका जनतालाई समान रूपमा प्राप्त हुने अधिकारहरूबारे पनि प्रष्ट उल्लेख भएको हुनुपर्दछ। यदि त्यसो हुन सकेन भने निरन्तरको आन्तरिक असन्तोष बिग्रह र कानुनी लडाईहरू मै यस्ता स्थानीय इकाईहरू रूमल्लिइ रहनेछन्। आफूप्रति इमानदार, उत्तरदायी र परिचित व्यक्तिबाट शासित हुन पाउने अधिकार स्थानीय शासनका सबै तह पुिरभाषित प्रक्रियाअनुरूप जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्तिहरूबाट गठन हुुनु पर्दछ। निर्वाचनमा उम्मेदवार हुने, निर्वाचित हुने, मतदान गर्ने अधिकार सबैलाई समानरूपमा उपलब्ध हुनुपर्दछ। प्रजातन्त्र भनेको नै कुनै पनि व्यक्तिवा समूहलाई जन्म वा कुनै जातीय आधारमा विशेषाधिकार नहुने प्रणाली हो। त्यस्तो विशेषाधिकार न्याय वा समानताका दृष्टिले पनि उचित हुन सक्दैन। स्थानीय स्वशासनको अधिकार भनेको नजिकैबाट आफ्ना परिचित व्यक्तिहरूबाट आफूप्रति जिम्मेवार, बढी प्रजातान्त्रिक, उत्तरदायी र इमानदार सरकारप्राप्त गर्ने अधिकार हो। स्थानीय स्वायत्त शासनका युनिटहरूको गठन र व्यवस्थापन गर्दा बिर्सिनै नहुने कुरा के हो भने यसका उपलब्धिहरू लगानीको तुलनामा सधै बढी हुनुपर्दछ। नभए यस्ता इकाईहरू सफल र प्रभावकारी हुन सक्दैनन्।
सन् १९९७ को विश्व बैंकको वार्षिक विकास प्रतिवेदनमा एउटा अत्यन्त सुन्दर वाक्य लेखिएको छ, “विकासको साध्य र साधन दुवै मानिस हो।” विकास मानिसकै लागि हो र यो उसैको हातबाट हुनुपर्दछ। यह िकुरा प्रज्ातन्त्रको हकमा पनि लागु हुन्छ –प्रजातन्त्र जनताका लागि हो। यसको उपयोग, अभ्यास र विकास जनता आफैल्े गर्नु र गर्न पाउनुपर्दछ। सरकार सबै जनताका लागि हो। जनताको कुनै खन्ड वा अंशका लागि वा त्यस्तो खन्डा वा अंशका मानिसको महत्वकांक्षाका लागि पनि होइन। हुन सक्दैन। त्यस्तै सबै तहका सरकार जनताप्रति प्रत्यक्ष रूपले पूर्णरूपमा उत्तरदायी हुनुपर्दछ। यो उत्तरदायित्वको मापन नियमित रूपमा गरिने व्यवस्था हुनुपर्दछ। यस्तो मापन सरकार वा राज्यका निर्णयहरूमा जनताको प्रत्यक्ष वा निर्णायक सहभागिता हो। यसैका लागि स्थानीय स्वायत्त शासनको प्रणाली विकास भएको हो। यस्तो सहभागिता नियमित निर्वाचन र सबै महत्वपूर्ण विषयहरूमा स्थानीय वा राष्ट्रियस्तरमा जनमतसंग्रह जस्ता प्रक्रियाहरूबाट गर्न सकिन्छ। उनीहरूका हित–माग, विरोध वा समर्थनका आवाजहरूले पारदर्शी, व्यवस्थित र परिभाषित प्रक्रियाबाट प्रवेश र सम्बोधन पाउने वा नपाउने कुराहरू पनि जनसहभागिताका स्वरूप हुन्। यी कुराहरू संस्थामा र संस्थाहरूमार्फत् पनि गरिन्छन्। यसका लागि संस्थाहरूको क्षमता पनि सुदृढ र मजबुत हुनुपर्दछ। उनीहरूको आन्तरिक कार्यपद्धति पनि त्यसरी नै व्यवस्थित हुनुपर्दछ। बलियो केन्द्र र बलियो स्थानीय सरकार मुलुकको विकास, समृद्धि निमर्ाृण र नागरिकहरूको हित र सुरक्षाका लागि स्थानीय सरकारहरू सवल, सक्षम हुनुपर्दछ तर यो केन्द्रीय सरकारको मूल्यमा होइन भन्ने कुरा भूल्न सकिंदैन। केन्द्रीय सरकार कमजोर भयो भने स्थानीय सरकारहरूबीच समन्वय र सन्तुलनको अभाव हुने मात्र होइन स्ययं स्थानीय सरकारहरू असफल हुने सम्भावना पनि बढी रहन्छ। किनकि स्थानीय तहका स्वायत्त शासनका इकाईहरूलाई उत्साह र अभिप्रेरणा प्रदान गर्ने, क्षमता अभिबृद्धि गर्ने र प्रभावकारिता निर्माणमा सहयोग गर्ने काम पनि केन्द्र सरकारले नै गर्नुपर्दछ। स्थानीय सरकारको वित्तिय, प्रशासनिक, स्रोत संकलन र व्यवस्थापन क्षमता विकास गर्नमा सहजकर्ताको भूमिका पनि केन्द्र सरकारले नै निर्वााह गर्नुपर्दछ। यी सबै दायित्व निर्वाहका लागि पनि केन्द्र सरकार अत्यन्त सक्षम र प्रभावकारी हुनुपर्दछ। स्थानीय सरकारलाई प्रभावकारी बनाउन शिक्षण–प्रशिक्षण दिने, अनुकूल र सहयोगी वातावरण बनाइदिने र नियमकारी संयन्त्र बनाउने दायित्व पनि केन्द्रीय सरकार नै हो, हुनुपर्दछ। साथै, स्थानीय सरकारहरूका लागि राम्रो र प्रभावकारी कार्य सम्पादनका मानकहरू बनाई सो अनुरूप गराउने र राम्रो उपलब्धि हासिल गर्नेहरूलाई प्रोत्साहनको व्यवस्था गर्ने काम पनि केन्द्रले गरिरहनु पर्दछ।
मुख्य कुरा स्थानीय सरकारहरूलाई आफ्ना प्रमुख दायित्वहरू निर्वाह गर्न, सामाजिक, आर्थिक रूपान्तरणका लागि आवश्यक वित्तिय, मानवीय र संस्थागत क्षमता निर्माण गर्न र शासकीय दायित्व संचालनमा प्राप्त शिक्षा र अनुभवका आधारमा क्षमता संयोजन र अनुकूलमा सहयोग गर्ने कार्य पनि केन्द्र सरकारले नै गर्नुपर्दछ। नेपाली जनताप्रति इमानदार छौं भन्नेहरूले यी कुराहरूमा ध्यान नदिई सुख छैन। (लेखक नेपाल शिक्षक युनियनका पूर्वअध्यक्ष हुन्) –राजधानी/मंगलबार २६

संयुक्त प्रेम

वस्तीमा जनहरु,
बाँच्नुको अर्थमा,
अकाट्य जीवन,
निमुखा र सर्वहारा
सर्वनामको खास्टो
ओढेर सताब्दीको,
झोलुंगोमा पिङ खेल्दैछन l
अतृप्त भोक
प्यासका यात्रीहरु.......
दु:खको फेदीबाट,
टाउको उठाएर हेर्दा
सुखको चुचुरामा
आँखाको दृश्य
ठोक्किएर,,,,
बन्दनजर भित्र
सन्सार हेर्न बाध्यछन
युगले सहासको,
पैंचो माग्दा पनि
अट्टाहासको खोपामा
रहेर ध्वाँसे हुनुको
आफ्नै पिडा ठिक,,,
मानेर कर्कसे लोरीमै
कतै निदाई रहेकाछन l
कहिले कतै
जूगले मान्छे फेर्यो,
अब म चाहन्छु,,,
मान्छेले युग फेरोस्,
घरको भित्ता भित्तामा
सबैले
सिङ्गो ब्रम्हाण्ड हेरोस्
तेस्रो संसार देखोस्
जहाँ समानताका फूलहरु
सम्मानताका साथ झुलुन,
बेबिलोनको बगैंचामा जस्तै
सप्तरंगी फूलहरु एकै साथ फुलुन l
बन्दुकको नालबाट
अब,
प्रेमको राग निस्कियोस,
म भन्छु,,,,
संगीनको धारमा
अब,
मिलनको बहर भेटियोस,
दिनको सूर्यमा भेनस शहर भेटियोस,
अस्ताए पछी रुमानी साँझ भेटियोस,
जहाँ,'मेरो' होइन.....
हाम्रो संयुक्त प्रेमको प्यास मेटियोस !
By मनु लोहोरुङ(Manu Lohorung)