Tuesday, April 10, 2012

सतलजको फाँटसम्म
पूर्वको टिष्टासम्म
पश्चिमको काँगडासम्म ...
मात्र होइन
देउथलको किल्लासँग
भक्ति थापाको रगतसँग
मलाउका किल्लाहरूमा
आत्मसमर्पणका चिठ्ठीसँग
नालापानीका किल्लासँग
बलभद्रका हिम्मतसँग
कहिले आक्रोशबाट
कहिले वलिदानबाट
पछि त
सुगौली सन्धीको आघातबाट
परिभाषा
परिभाषा पूरै मेटिएको छ
खै कहँँ लेखिएको छ
तर देश त अडिएको छ ।
स्वाभिमानको सगरमाथा
भारतभित्रै समेटिएको छ
दिउसै अध्यारो बनाई
सीमाहरू मिचिएको छ
देशभक्तिका स्वरहरू
विदेशी डलरसँग
एन.जी.ओ.
आई.एन.जी.ओ.
मिठाससँग
ऊ लत्पतिएको छ
अल्झिएको छ ।
हिजोका
एकताका हातहरू
देशभक्तिका साथहरू
सयौँ जातका फुलवारीहरू
आज टुक्रिएको छ
सद्भाव खल्बलिएको छ
परिभाषा पुरै उल्टिएको छ ।
हिजोका
बाइसे÷चौबिसे राज्यहरू
भुरेटाकुरे दरवारहरू
कतै उभिएको छ
कतै जुर्मुराएको छ
अनि
नेपालीपन त हराएको छ
आगोले जलाएको छ
क्षेत्रीय शानले गलाएको छ ।
हो यतिबेला
विचारको परिभाषा
राष्ट्रवादको परिभाषा
आत्मसम्मानको परिभाषा
सहिदहरूको परिभाषा
देशभक्तका रगतका परिभाषा
प्यारो देशको परिभाषा
हराउन थालेको
त्यसैले
लेख्नुछ नयाँ परिभाषा
जोगाउनुछ देशको परिभाषा ।

No comments:

Post a Comment