Saturday, January 26, 2013

डलरको प्रभाव हो जनजाति आन्दोलन - कुलबहादुर गुरुङ

पछिल्लो समय नेपालको राजनीतिमा राम्रो इमेज बनाएका जनजाति नेता आफ्नो हकअधिकार मुख्य दलका शीर्ष नेताका कारण पाउन नसकेको भन्दै ती दलबाट बाहिरिएका छन् । राजनीति भनेको समाजसेवा हो । जनतालाई हक अधिकार दिलाउने काम हो । सबै जनताले आफ्ना सार्वभौम अधिकार पाए आदिवासी जनजातिले पनि स्वतः आफ्नो अधिकार पाइहाल्छन् । आम जनताले नपाए कसरी जनजातिले पाउलान खै ? तत्कालीन एमाले उपाध्यक्ष अशोक राई लगायत जनजाति नेताले आफूहरूको हक अधिकार स्थापित गर्न भन्दै नयाँ पार्टी समेत निर्माण गर्नुभएको छ । उहाँहरू राजनीतिमा लाग्दा जनजाति भएर लाग्नुभएको होइन । जनजाति भनेर जनताले उहाँहरूलाई जिताएका होइनन् । राई लगायत नेताले एमालेबाट बाहिरिएर नयाँ पार्टी गठन गरे पनि यस विषयमा उहाँहरूसँग मेरो कुनै कुराकानी भएको छैन ।
म पनि जनजाति भएर कांग्रेसमा लागेको होइन । २००७ सालदेखि अहिलेसम्म कांग्रेसका विभिन्न तहमा बसेर काम गर्दा कहिल्यै जनजातिको पगरी गुथेर काम गरिएन । कसरी जनताका हकअधिकार परिपूर्ति हुन्छन् भन्ने विषयमा मात्र बहस केन्द्रित गरियो । जनजातिको पगरी थुथेर बलबहादुर राई, योगेन्द्रमान शेरचन कांगे्रसमा आएका होइनन् । उनीहरूलाई जनताले जनजाति भनेर मन पराएका पनि होइनन्, विचार र सिद्धान्तले मन पराएका हुन् । अहिले जनजाति भएर पनि जनजातिका हक अधिकारका लागि नलागेको भनेर मलाई आरोप लगाइएला । जनजातिका हक अ धिकारका विषयमा पार्टी खोल्नुभन्दा पहिला मसँग त्यस विषयमा कुनै छलफल भएन । अहिलेसम्म कसरी अघि बढौं भन्ने विषयमा पनि कुनै छलफलसम्म गरिएको छैन । अहिले उठेको जनजाति आन्दोलनको अभियानको क्रममा मलाई साथीहरूले भेटेका थिए । मैले उनीहरूलाई पनि म जनजातिको पगरी गुथेर कांग्रेसमा गएको होइन, मुलुक र मुलुकवासीको सेवाका लागि प्रजातान्त्रिक समाजवादको सिद्धान्तप्रतिको निष्ठाले कांग्रेसमा लागेको हुँ भनेर प्रष्टै भनिदिएको छ । त्यसपछि उहाँहरूले कुनै कुरा गर्नुभएन । म पार्टीमा जनजातिको पगरी गुथेर बसेको पनि होइन । म विचार र सिद्धान्त मनपराएरै कांग्रेसमा लागेको हुँ ।
एकीकृत नेकपा माओवादी र एमालेले जनजातिको छुट्टै संरचना बनाएर अघि बढ्दा मैले नै पार्टीमा हामीले त्यस्तो गर्नु हुँदैन, अलग्गै पहिचान बनाएर बस्नुपर्छ भन्ने आवाज उठाएको थिएँ । जो कोही सिद्धान्त, आदर्श र दर्शनबाट प्रेरित भएर पार्टीमा लागेको हुन्छ । पार्टीको सिद्धान्त, आदर्श र दर्शनलाई नलिने जनजातिलाई ल्याएर राख्दा त्यसले कुनै अर्थ दिंदैन । पार्टी सिद्धान्त र कार्यक्रममा अडिने हो । तर, जनजाति भनेर मात्रै ल्याउँदा उसले पछि पार्टीको निर्णय नमान्न सक्छ । त्यस दिशामा मैले पार्टीमा बेलैमा सुझाव पनि दिएको थिएँ । जनजातिलाई माओवादी र एमालेले जुन ढंगले पहिला उचाले, त्यसैले समस्या आएको हो । र उनीहरू त्यहाँबाट अलग पनि भए । कांग्रेसले आफूलाई विशुद्ध जनजातिको पार्टीका रूपमा नभई पार्टीको नीति र सिद्धान्तमा अड्याउन सक्नुपर्छ । कांग्रेस पनि त्यसमा अडिन सकेन र माओवादी र एमालेले जस्तै बाटो समात्न थाल्ने हो भने ऊ पनि कमजोर भएर जान्छ ।
कांग्रेस भनेको सिद्धान्तनिष्ठ पार्टी हो भन्ने कुरा पहिले खुट्याउन सक्नुपर्छ, त्यसपछि पार्टीमा आउने कुनै जातजाति, आदिवासी, सीमान्तकृत र मधेसी सबै कांगे्रसी हुन्छन् । बिपीकै पालादेखि कांग्रेस पार्टी समावेशी ढंगले चल्दै आएको छ । तर, बिपीले जनजातिको नाम नराखी सबैलाई मिलाएर पार्टी हाँकेका थिए । पार्टी ब्राम्हण, क्षेत्री, मधेसी, नेवार, गुरूङ या कुनै जातजाति विशेषको कल्यिै हुन सक्दैन । पार्टीले एउटा नीति, विचार र कार्यक्रम दिन्छ । त्यसैका आधारमा सबलाई समेटेर अघि बढ्ने हो । त्यसैमा कांग्रेस अडिन सक्नुपर्छ । जनजातिको मुद्दा जसरी उठेको थियो, मैले त्यस्तो जन्जालमा फस्न हुँदैन भन्दै आएको थिएँ । तर, पार्टीका वरिष्ठ नेता भन्नेहरू नै जनजाति आन्दोलनको केही समय संरक्षक भए, त्यसैले गर्दा केही समस्या पनि देखा प¥यो । तर, पार्टी नेतृत्व बेलैमा सचेत भएर जनजातिका सम्बन्धमा पार्टीको धारणा तय गर्न समिति बनायो । समितिले आफ्नो प्रतिवेदन पनि बुझाएको छ । त्यसबाट हाम्रो पार्टीमा आबद्ध जनजाति साथीहरू सन्तुष्ट भएजस्तो देखिएको छ । म अहिले पनि कुनै पनि नाराको पछि दौडिने पक्षमा छैन । सबले बिपीको राष्ट्रिय मेलमिलाप, राष्ट्रियता र प्रजातन्त्रको नीति र देशको माटोलाई एकपटक राम्ररी सम्झनुपर्ने बेला आएको छ ।
म बिपीको पालादेखि नै कांग्रेसमा बसेकाले मैले कांग्रेसलाई जनजातिविरोधीका रूपमा कहिल्यै हेरेको छैन र कांग्रेस जनजातिविरोधी छँदा पनि छैन । २००७ सालमा बन्दुक बोक्ने योद्धाहरू धेरै जनजाति थिए । त्यतिबेलाको संघर्षमा मर्ने धेरै जनजाति योद्धा नै छन् । तर, उनीहरूले जनजातिको पगरी गुथेर आफ्नो ज्यान फालेका थिएनन् । बिपीले कहिल्यै जनजाति र तागाधारी भनेर पार्टी संचालन गरेनन् । जनजातिको राजनीतिको सुरूवात ०१७ सालमा तत्कालीन राजा महेन्द्रले गराएका हुन् । उनले त्यतिबेला प्रजातन्त्र र कांग्र्रेसलाई कमजोर बनाउन कांग्रेसभित्रकै जनजाति नेतालाई लगेर मतवाली कांग्रेस खोल्न लगाएका थिए । तर, उनको त्यो प्रयास सम्भव भएन । त्यसपछि मगुराली संघ, सेता मगुराली संघ पनि खोलिए। तर बिपीले कहिल्यै जातजातिको कुरा गरेनन् । उनले सधै सबैलाई मिलाएरै पार्टी चलाए । पार्टीलाई समावेशी पनि बनाए । अहिले जनजातिको सवाललाई गलत ढंगले व्याख्या गरिंदैछ । यो दीर्घकालीन रूपमा मुलुक स्वयं जनजाति नेता र जनजाति जनतालाई समेत घाटाको व्यापार सावित हुनेछ ।
कांग्र्रेसले जनजातिका सम्बन्धमा तयार पारेको प्रतिवेदन समय सुहाउँदो छ । तर, सबै पार्टीका जनजातिसँग बृहत रूपमा सुझाव लिएर प्रतिवेदन ल्याइएको भए अझ राम्रो हुन्थ्यो भन्ने मेरा धारणा छ । आफ्नो पार्टीको मात्रै कुरा गरेर देशव्यापी रूपमा उठेको जनजातिको मुद्दा सम्बोधन गर्न गाह्रो हुन्छ । देशका जातीय सद्भाव कायम गर्ने र जातीय द्वन्द्व अन्त्य गर्ने हिसाबले कांग्रेसले नीति बनाउन सक्नुपर्छ ।
नेपालको जनजाति आन्दोलनमा बाहिरी मुलुकको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । आइएनजिओ र डलरको असर हो, जनजाति आन्दोलन । कतिपय साथीले देशै डलरमा चलिरहेको छ, सहायतामा चलेको छ भने जनजातिले मात्र लिन किन नहुने भन्छन् । खासमा पार्टीमा जनजाति, आदिवासी संघ भनेर राख्नै हुँदैनथ्यो । तर, जो जनजाति मात्र भनेर अघि बढिरहेका छन्, उनीहरू गलत बाटामा छन् । समग्र जनताको हितमा नीति, सिद्धान्त र आदर्शमा रहेर जनजाति हुन सक्नुपर्छ । आदिवासी जनजाति मात्र होइन, सबैलाई समेट्न सक्नुपर्छ । हामी नेपाली हौं, त्यसपछि हामी कांग्रेस, एमाले र माओवादी हौं तर गुरूङ मगर, राई, लिम्बु होइनौं भने । दलहरूले यस्तो भन्न सकिरहेका छैनन् । अरू पार्टीले नसके पनि कम्तीमा कांग्रेसले यो भन्ने साहस देखाउनुपर्छ ।
(कांग्रेस पूर्वमहामन्त्री गुरूङसँगको कुराकानीमा आधारित यो लेख नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।)

No comments:

Post a Comment