Wednesday, October 7, 2009

नेपाल एउटै हुनुपर्छ

तिम्रा काँडावाल आकृतिहरू
रक्तपिपासु मनोवृत्तिहरू
षडयन्त्र, जालझेल र आर्तहरूलाई
झुक्याउने कुकृतिहरू
राष्ट्र सिक्किम वा फिजि बनाउन
तयार पारिएका नीति र विधिहरू
अनेकतामा गाँसिएको एकता खल्बलाउन
खेलिएका विकृतिहरू
हामी नामर्द, नामुदमण्डले हुतिहारा
बनेर सहन सक्दैनौं।
हौं हामीहरू विदेशीहरूका
कठपुतली बनेर नाँच्न पनि जान्दैनौं।
दिनदाहडै सोझासाझा जनताहरूलाई
एउटै चिहान बनाउँदैनौं।
स्वाभीमानी यी अटल शिरहरू
दुश्मनका सामु कहिल्यै झुकाउँदैनौं।
किनभने,
जहानियाँ राणाशासन ढाल्न सक्ने
तागत छ हामीसँग।
निरंकुश राजतन्त्र गाल्न सक्ने
आलो रगत छ हामीसँग।
शोषितहरूको सत्ता स्थापना गर्ने
महान् उद्देश्य र लक्ष्य छ हामीसँग
त्यसैले अब
देशभक्त, मजुदर, किसान, ज्यामीहरू
एकतामा बाँधिनुपर्छ
कलमवीर, चैतन्यवीर र रणवीरहरू
बाघबज्र प्रहार गर्न जुट्नुपर्छ
देश टुक्राटुक्रा पारेर
विदेशीहरूलाई बेच्न खोज्नेहरूलाई
जात, धर्म, भाषा र क्षेत्रका बीचमा
गृहयुद्धको वीउ रोप्नेहरूलाई
एकताको कालशास्त्र प्रहार गरी
अखण्ड नेपाल कायम गर्नुपर्छ
राष्ट्रिय अस्मिता बचाउन अब
नौलो महासमरको उद्घोष गर्नुपर्छ।
विशाल, सुन्दर, शान्त
एकात्मक गणतान्त्रिक नेपाल हुनुपर्छ।
एउटै नेपाल हुनुपर्छ।

No comments:

Post a Comment