Monday, September 14, 2009

नयाँ संविधान लेख्दै गर्दा

नयाँ संविधान लेख्दै गर्दा
कतै कुनै मोडहरूमा
तिम्रो इमान खरीद्नको लागि, फूलका मालाहरू आए भने
डलर भरिएका सुट्केश सँगै चिल्लाकारहरू धाए भने
छाती चिरेर तिमी भित्रको निस्वार्थी भाव देखाइ दिनु है।
नयाँ संविधान लेख्दै गर्दा
तिम्रो भावनाहरूमा देश टुक्राउने शब्दहरू लिएर राष्ट्रघातीहरू आए भने
जनता भिडाउने मन्त्रहरू जपेर जाली फटाहाहरू जागे भने
एकताको मुठ्ठी उठाई देश भक्तिको तागत चखाइदिनु है।
नयाँ संविधान लेख्दै गर्दा
आरनहरूमा
आशाको खलाँती फुकेर घन ठटाउनेहरूको
आँगनहरूमा
दुःखको कुम्लो बसालेर कल चलाउनेहरु
यी सबैको अधिकार कोर्न नबिर्सनु है।
नयाँ संविधान लेख्दै गर्दा
कारखानाहरूमा
पसिनाले पैसा साटेर लालावाला पाल्नेहरूको
नदी किनारहरूमा
दश नंग्राको सहाराले एकमुठ्ठी प्राण धान्नेहरू
यी सबैको सुखको आधार लेखिदिनु है।
नयाँ संविधान लेख्दै गर्दा
चुलो चौकाहरूमा खालीपेट सृष्टिको दियो बलाउनेहरू
मेलापातहरूमा
दुधेबालकको भोक र चित्कार सम्हाल्दै
आस्थाका फुल फुलाउनेहरूको
समान हक खुलाई दिनु है।
नयाँ संविधान लेख्दै गर्दा
नेपाली छातीका नागवेली सुसाइहरूको
पहाडको टाकुरी र हिमाली उचाईहरूको
गौरवका बुंदाहरू थपिदिनु है।
नयाँ संविधान लेख्दै गर्दा
चुरेका जंगल र तराईका फाँटहरू
सबैले बोल्ने भाषा अनि सबै धर्म र जातहरूको
मौलिक हक पनि लेख्न नबिर्सनु है।
नयाँ संविधान लेख्दै गर्दा
सिमानाहरूमा
जंगे खम्बालाई पनि ढल्न नदिनु है।
हिमाली पाखाहरूमा यार्सागुम्बालाई पनि सड्न नदिनु है।
नयाँ संविधान लेख्दै गर्दा
चोकहरूमा
आस्थाको टायर बालेर क्रान्तिको धुवाँ उडाउनेहरूको सडकहरूमा
प्रतिरोधको रूख ढालेर अत्याचार विरूद्ध सिंगौरी खेल्नेहरूको जुलुसहरूमा
दमनको घेरो तोडेर हाँस्दै रगत बगाउनेहरूको
वीरताको झण्डा फहराइदिनु है।
नयाँ संविधान लेख्दै गर्दा
कतै कुनै मोडहरूमा
कसैको त्रास र धम्किले तिमी कतै नतर्सनु है
नयाँ संविधान लेख्दै गर्दा
शहीदहरूको सपनामा श्रद्धाको भेटी चढाउन नबिर्सनु है।

No comments:

Post a Comment